लिगमा पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच स्थगित भएको खेल आगामी शनिबार हुने भएको छ ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना महामारीका कारण स्थगित भएको नवौं चरणको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने १ बजे हुने जानकारी गराएको हो । खेल दशरथ रंगशालामा हुनेछ ।

यो खेलपछि लिगमा नवौं चरणका खेलहरु सकिनेछन् । यसअघि माघ २ गतेका लागि तय भएको यो खेल च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण भएपछि स्थगित गरिएको थियो ।

हाल लिग तालिकामा पुलिस ८ खेलबाट ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । ८ खेलबाट ५ अंक जोडेको च्यासल १३ औं स्थानमा रहँदै रेलिगेसनको खतरामा छ ।

पुलिस र च्यासल दुवैले यस सिजन अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । एक दशक अघिसम्म घरेलु फुटबलमा बाघको रुपमा रहेको पुलिसको प्रदर्शन पछिल्ला वर्षहरुमा राम्रो छैन । यस्तै खेलाडी अनुबन्धमा आक्रामक बनेको च्यासलको प्रदर्शन लक्ष्य भन्दा धेरै टाढा छ ।

अहिलेसम्म अपराजित साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ भने मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ । अर्को अपराजित आर्मी आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ ।

एन्फाले माघको अन्तिमबाट दशौँ चरणका खेल शुरु गर्ने तयारी गरेको छ ।