April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

वैशाख ३० गते स्थानीय तहको निर्वाचन, ३३४ पालिकामा जनप्रतिनिधि १० दिन अगावै बिदा हुने

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ। साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

Advertisement

सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। यस अघि निर्वाचन आयोगले आगामी ५ जेठमा ७५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरेकाे थियाे।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो। सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।

अब ७५३ वटा पालिका तहमध्ये २८३ पालिकाका जनप्रतिनिधिको मात्र पाँच वर्षे कार्यकाल पूरा हुनेछ । दोस्रो चरणमा निर्वाचन भएका प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ३५ जिल्लाका ३३४ पालिकामा जनप्रतिनिधि १० दिन अगावै बिदा हुनेछन् । यस्तै तेस्रो चरणमा असोज २ मा निर्वाचन भएको मधेस प्रदेशका १३६ पालिका जनप्रतिनिधि एक सयभन्दा बढी दिन अगावै पद मुक्त हुनेछन् ।