March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

जुत्ताचप्पल कारखानामा आगलागी

मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ । श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो ।

Advertisement

झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताउनुभयो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह ५ बजेतिर आगलागी पूर्णरूपमा निभाइएको भएको उहाँले जानकारी दिनुभयो । मेचीनगर नगरपालिकाका दुईवटै दमकल बिग्रिएको हुँदा जिल्लाबाहिर र भारतबाट दमकल मगाइएको थियो ।

काँकडभिट्टाको उत्तरी भागमा आवास क्षेत्रमा कारखाना रहेको छ । आगलागीमा जुत्ता, चप्पल, कच्चा पदार्थ, केमिकल र कारखानाको भौतिक सम्पत्ति समेत गरेर रु आठ करोडको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगी खेतानले बताउनुभएको छ ।