March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बेपत्ता आमाछोरा दिल्लीमा भेटिए

बागलुङ- चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिनुभएको छ । घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उहाँका श्रीमान् राजेन्द्रले जानकारी दिनुभयो ।

Advertisement

श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उहाँले बताउनुभयो । खोजी गर्दा भारत गएको जानकारी पाएपछि राजेन्द्र श्रीमती र छोरा लिन सोही दिन दिल्ली पुग्नुभएको थियो । दिल्लीको एक कोठामा अपरिचित महिलासँग बसेको अवस्थामा भेटाएपछि त्यहाँबाट छुटाएर ल्याएको राजेन्द्रले बताउनुभयो ।

“आमाछोरा दिल्लीमा सकुशल भेटिए, अहिले साथमा लिएर घर फर्कंदैछु”, उहाँले टेलिफोनमा भन्नुभयो, “कपिलवस्तु घर भएकी महिलाले काममा लगाइदिन्छु भनेर दिल्लीसम्म पु¥याएकी रहिछिन् ।” श्रीमतीलाई ती महिलाको नामसमेत थाहा नभएको राजेन्द्रले बताउनुभयो । राजेन्द्रका अनुसार उनीहरुबीच फोनमा कुराकानी भएपछि दिल्ली जाने योजना बनाइको थियो । रोजगारीको लोभले अपरिचित महिलाको लहैलहैमा लागेर श्रीमती दिल्ली पुगेको उहाँको भनाइ छ ।

गत पुस २६ गते छोरासहित आफ्नो लुगाफाटो लिएर घरबाट निस्कनुभएकी विक आँगाखेतबाट जीप चढी बुटवल र त्यहाँबाट दिल्ली पुगेको पाइएको छ । राजेन्द्रले बेपत्ता आमाछोराको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवेदन दिनुभएको थियो ।

बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत स्थिति पत्ता लाग्न नसकेपछि परिवारजन चिन्तामा थिए । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागिसमेत जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । घरबाट गएको साँझ श्रीमान्सँग कुराकानी हुँदा भाइकोमा आएकी छु भनेपछि विकको मोबाइल एकाएक बन्द भएको थियो । त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । पछि फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा श्रीमतीले आफूहरु दिल्लीमा रहेको बताएपछि खोजीमा गएको राजेन्द्रले बताउनुभयो ।