March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बैतडीका २२ वडासचिव स्पष्टीकरणमा

बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

Advertisement

स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, डिलाशैनी गाउँपालिका–२, मेलौली नगरपालिका–२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक वडाका सचिव रहेका छन् ।

राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भए पनि बैतडीका धेरैजसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोधिएको हो । धेरैजसो वडामा कानून नै नपढेर हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले उनीहरुलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सूचना अधिकारी भारतीले भन्नुभयो, “२० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको पाइएको, धेरै जसोले व्यक्तिगत घटना दर्ता अनलाइनमा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको हो । पहिलो पटक उनीहरुलाई सचेत गराउन स्पष्टीकरण सोधेका र दोहिरिएमा कानूनबमोजिम कारबाहीका भागीदार हुनेछन् ।”

राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा एमआइएस अपरेटर राखेको भए पनि अनलाइन दर्ता गर्ने कार्य नभएको हो । विसं २०७५ भदौ १ गतेपछिका हरेक व्यक्तिगत घटना दर्ता अनलाइनमा दर्ता हुनुपर्ने भएकाले त्यसो नभएकाले स्पष्टीकरण सोधिएको हो ।

यसका साथै मुलुकी संहिता, २०७४ को दफा ७० को ‘घ’ अनुसार विवाह दर्ता नगरेको पाइएको छ । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्तालगायतका कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भए पनि त्यसो नगरेका वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लाका अन्य वडासचिवले पनि यस्तो गरिएको पाइएमा पहिलो पटक स्पष्टीकरण सोधिने र दोहोरिँदै गए कारबाही गरिने बताइएको छ । राष्ट्रिय पञ्जीकरण विभागकै कार्ययोजनाअनुसार अनलाइन घटना दर्ता नहुँदासम्म नागरिकता प्रदान गर्न नसकिने जनाइएको छ । कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहलाई आलोपालो सेवा दिइरहेको छ।