April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि सरकारबाट निरन्तर प्रहार भइरहेको छ- प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार परिवर्तन उल्ट्याएर श्रमजीवि जनताका अधिकार खोस्न उद्धत देखिएको बताउनुभएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि सरकारबाट निरन्तर प्रहार भइरहेको दाबी गर्नुभएको हो ।

उहाँले श्रमजीवी वर्ग विकासको बहुआयामिक आधार भएकाले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने पनि बताउनुभएको छ । श्रमजीवीका पक्षमा प्राप्त उपलब्धिको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ ।

‘यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो । तर, श्रमजीवी वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ,’ प्रचण्डले भन्नुभएको छ, ‘पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवी जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले श्रमिक वर्ग मारमा परेको भन्दै अध्यक्ष प्रचण्डले सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ । कोरोनाका कारण रोजगारी गुमाएका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको भन्दै उहाँले उचित राहतसहित वैकल्पिक व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले रोजगारविहीन श्रमिकलाई सहयोग गर्न राजनीतिक कायकर्ता र समाजसेवीलाई आग्रह पनि गर्नुभएको छ । उहाँले श्रमिक दिवसको अवसरमा कोरोना महामारीको संक्रमणबाट आफ्नो जीवनरक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।