April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सेवा चुस्त बनाउन श्रममन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । बबरमहलस्थित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको आज निरीक्षणपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

Advertisement

सरकारी सेवा जनताले छिटोभन्दा छिटो पाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो । “हामी जनताका सेवक हौँ, काममा ढिलाइ नहोस्,” उहाँले भन्नुभयो, “केही समस्या परे सहजीकरण गर्न म तयार छु ।”

सोही क्रममा मन्त्री श्रेष्ठले दुवै कार्यालयबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी लिनुभएको थियो । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा कार्यरत श्रमिकहरूका गुनासो सुन्दै काम सुरुआत गर्नुभएको थियो ।

यसैगरी मन्त्री श्रेष्ठले विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गर्नुभएको छ । यूएई र साउदी अरबका राजदूतसँग भेटघाट गर्दै मन्त्री श्रेष्ठले यूएई र साउदी अरबमा अलपत्र परेका, मृत्यु भएका र जेलमा रहेका नेपाली श्रमिकको उद्धारमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।

विभिन्न कारणले विदेशमा अलपत्र परेका र जेलमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन श्रममन्त्री श्रेष्ठले सम्बन्धित राजदूतलाई आग्रह गरेको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठसँग यूएईका राजदूत साइद हमदार मोहम्मद अल नक्की र साउदी अरबका राजदूत मुसेद वनि सुलेमानले महाराजगञ्जस्थित मन्त्री श्रेष्ठको निवासमा भेटघाट गर्नुभएको थियो । सो अवसरमा राजदूतहरुले श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै दुई देशबीचको हितका लागि आपसी समझदारीमा काम गर्ने बताउनुभयो ।