April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उहाँले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

Advertisement

मोटरसाइकल चालक खनाल र मोटरसाइकलमा सवार उहाँका १३ वर्षीय छोरा सन्दीप खनाल दुर्घटनाबाट गम्भीर घाइते भई उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गर्दागर्दै मृत्यु भयो । दुर्घटनाको मुख्य कारण ट्रकको तीव्रगति भएको ट्राफिक प्रहरीले निष्कर्ष निकाल्यो । यस्ता घटना रुपन्देहीमा दिनहुँजसो हुने गरेका छन् ।

जिल्लामा यसरी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या डरलाग्दो देखिन्छ । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको चौवर्षीय सवारी दुर्घटनाको रेर्कडअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्ममा ११९४ सवारी दुर्घटनामा ३९० जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ६४९ र घाइते ४१० जना भएका छन् । आव २०७८/७९ को मङ्सिरसम्म ६६ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ४५ र घाइते २३ छन् । यसकारण रुपन्देहीमा दुर्घटनाले मानिसको मृत्यु, गम्भीर घाइते र घाइते हुने सङ्ख्या हेर्दा डरलाग्दो देखिन्छ ।

यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि कार, जीप र ट्र्याक्टर तथा ट्रक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ । आव २०७४/७५ देखि २०७७/७८ सम्म चालकको लापरबाहीबाट ५२१ वटा दुर्घटना, यात्रुको गल्तीबाट १४९ र तीव्रगतिबाट १५७ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ । ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, चौपाया, सडकको अवस्था, मौसमको अवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको बताउनुभयो । वार्षिकरूपमा हजारौँको सङ्ख्यामा सवारी नेपालमा भित्रिने तर पुराना विस्थापित नहुनु, साँघुरा सडक, नशालु पदार्थ सेवन गरी सवारी चलाउनु, फुटपाथको अधिकरणजस्ता कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक थापाले भन्नुभयो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरि ‘चालकसँग ट्राफिक प्रहरी’जस्ता चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले चालकले ट्राफिक नियम पालना नगर्दा डरलाग्दा सडक दुर्घटना हुने गरेको बताउनुभयो । सडक दुर्घटनाका लागि रुपन्देहीमा ट्राफिक प्रहरी स्कूल कलेज, क्लब र यात्रुसँग प्रत्यक्ष जोडिएर जनचेतनाका कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक दुर्घटना न्यूनीकरणका लागि हाम्रो अभियान चालकदेखि यात्रुसँग हुन्छ ।”

रुपन्देहीमा पछिल्लो समय ट्राफिकले बढी भीडभाड हुने स्थानमा ट्राफिक लाइट जडान तथा अन्तक्र्रिया र चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । असुरक्षित सडक संरचना, व्यवस्थित सवारी नियमन मापदण्डको अभाव, चालकको अयोग्यता, सवारी नियमको अज्ञानताका कारणले धेरै सवारी दुर्घटना हुने गरेको सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको २०७७ को प्रतिवेदनमा उल्लेख छ । सडक दुर्घटना हुनुमा सवारी चालक र पैदलयात्री नै जिम्मेवार देखिने गरेको तथ्य भेटिन्छ । यसको न्यूनीकरणका लागि चालक र यात्रुलाई जिम्मेवारी बनाउनु पर्दछ ।