उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणको अन्तरिक्षबाट लिइएका तस्वीर सार्वजनिक

एजेन्सी । उत्तर कोरियाले मध्यम दूरीको आणविक हतियार बोक्न सक्षम ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले क्षेप्यास्त्र परीक्षणका तस्वीर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

समाचारअनुसार उत्तर कोरियाले पछिल्लो पटक परीक्षण गरेको क्षेप्यास्त्र मध्यम दूरीको ह्वासोंग–१२ भएको बताइएको छ । केसीएनएले सार्वजनिक गरेका केही तस्वीरहरू सो क्षेत्रप्यास्त्रमै राखिएको क्यामेराबाट लिइएको बताइएको छ । उत्तर कोरियाले २०१७ पछि पहिलो पटक आणविक हतियार बोक्न सक्षम क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियालीले अधिकारीहरूले यो परीक्षण सफल भएको बताएका छन् । समाचारअनुसार यो क्षेप्यास्त्रको दूरी २ हजार किलोमिटर रहेको बताइएको छ । जापानी तथा दक्षिण कोरियाली अधिकारीहरूले ३० मिनेटमा यो क्षेप्यास्त्रले ८ सय किलोमिटरको दूरी पार गरेको बताएका छन् ।

उत्तर कोरियाले पछिल्ला दिनहरूमा लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । संयुक्त राष्ट्रसंघले क्षेत्रप्यास्त्र परीक्षणमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई जारी राखेको छ । उत्तर कोरियाको यो पछिल्लो परीक्षणपछि केही अमेरिकी विश्लेषकहरूले अमेरिकाले उत्तरसँग बिनासर्त वार्ता गर्नुपर्ने बताएका छन् ।

Advertisement