April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपराह्न  ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने  बैठकमा संसद प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको हो ।

Advertisement

बैठकमा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका पछिल्ला राजनीतिक विषयमा छलफल हुने उनको सचिवालयले जनएको छ । प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढदल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

भेटमा उनले सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउन देउवालाई आग्रह गरेका थिए । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जाने वा नजाने निश्चित भएको छैन ।

एमालेले नेकपा (एकीकृत समाजवादी) सहभागी हुने बैठकमा नजाने बताउँदै आएको छ । एमालेले गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक र प्रधानमन्त्री शेरबहादुर देउवाले असोज १४ गते बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो ।

आफ्नो दलले कारबाही गरेका १४ सांसदको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ । गत मंसिर २८ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ ।

एमालेले सभामुखले सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाले नै राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।
यसैबीच, सर्वदलीय बैठक बस्नुअघि सत्तागठबन्धनको बैठकसमेत बस्नेछ ।

सर्वदलीय बैठकका लागि साझा धारणा बनाउन गठबन्धनको बैठक २ बजे बोलाइएको जनमोर्चाकी सासद् दुर्गा पौडेलले जानकारी दिइन् ।