भ्यूटावर निर्माणमा जुट्दै मिर्छुलुङवासी

भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा चन्दा सङ्कलनबाट भ्यूटावर निर्माण गरिने भएको छ । गाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले देशविदेशमा रहनुभएका स्थानीयसँग चन्दा सङ्कलन गरेर भ्यूटावर निर्माण गर्न लागिएको हो ।

Advertisement

होमस्टे सञ्चालन गरेर ख्याति कमाएको मिर्छुलुङ गाउँमा पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराई थप आर्कषणको स्थल बनाउने योजनाअनुरुप टावर निर्माण गर्न लागिएको हो । भ्यूटावर निर्माणपश्चात् गाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने र आयआर्जनमा समेत सहज हुने विश्वास गरिएको मिर्छुलुङ क्षेत्र विकास तथा मिर्छुलुङ भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

सोही ठाउँमा जन्मिएर हाल युकेमा रहनुभएका महेन्द्र आलेको सक्रियतामा गाउँमा भ्यूटावर निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ । महेन्द्रको पहलमा प्रवासमा रहेका नेपालीबाट रु ३० लाखभन्दा बढी रकम सङ्कलन गरिसकिएको छ ।

साराङकोट निर्माण सेवा प्रालीले भ्यूटावर निर्माणका लागि जिम्मा पाएको छ । प्रालीले रु ३८ लाख चार हजार ९०० को लागतमा निर्माणको लागि जिम्मा पाएको हो । विसं २०७९ वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको मिर्छुलुङ होमस्टेका अध्यक्षसमेत रहनुभएका थापाले बताउनुभयो ।

आदिवासी जनजातिको बाहुल्यता रहेको उक्त बस्तीमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई आफ्ना कलासंस्कृति प्रदर्शन गरेर भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । गाउँमा कृषि र पर्यटनलाई प्रवद्र्धन गरी बसाइँसराइले रित्तो बन्दै गएका गाउँका बस्तीमा पुनःगाउँमै फर्काउन सहज हुने स्थानीयवासीले विश्वास गरेका छन् । मिर्छुलुङको शक्तिपीठका रुपमा रहेको भैरव भगवान्को मन्दिरसमेत निर्माण गर्न लागिएको छ ।