March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण

शुभमिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडियो) आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गर्नुभयो । उक्त गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने खालको रहेको छ ।

समाजमा चेलीबेटी बेचबिखनका घटनाक्रम बढिरहेको र गरिबी, बेरोजगारीलगायत कारणले चेलीबेटी बेचबिखन भइरहेको छ । त्यसैले समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले उक्त भिडियो सामग्री प्राप्त गरेको हो । उक्त श्रव्यदृश्य सामग्री प्रहरी कार्यालयका विभिन्न कार्यक्रमका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रचारप्रसार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement