April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

बीमा समितिद्वारा जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो ।समितिले बुधवार जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । त्यो बुधवारदेखि नै लागू भएको समितिको भनाइ छ । निर्देशिकाले जीवन बीमा गर्दाको प्रक्रिया र प्राविधिक पक्षलाई सम्बोधन गरेको समितिको भनाइ छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमालेखसम्बन्धी व्यवस्थालाई एकीकृत गरेर निर्देशिका ल्याएको बताए । ‘जीवन बीमा पोलिसी सम्बन्धमा यसअघि पटकपटक भएका व्यवस्थालाई एकीकृत गरेर यस सम्बन्धमा पहिलोपटक यस्तो निर्देशिका ल्याएका हौं । यसमा अधिकांश यसअघि नै गरिएको व्यवस्था छन्,’ उनले भने, ‘पुराना व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाएका छौं भने केही नयाँ व्यवस्था पनि थप गरिएको छ ।’

समितिले अब बीमालेख जारी भएको ३ वर्षपछि मात्र ग्राहक (बीमितं) स्वयमले पोलिसी समर्पण गर्न पाउने व्यवस्था गरेको छ । साथै, ग्राहकले बीमालेख धितो कर्जा पनि बीमालेख जारी भएको ३ वर्षपछि मात्र लिन पाउने व्यवस्था गरिएको छ । एकैपटक बीमाशुल्क भुक्तानी (एकल बीमाशुल्क भुक्तानी) गर्ने ग्राहकको हकमा पनि यो व्यवस्था लागू हुने निर्देशिकामा उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Advertisement