बन्दै भत्किँदै कमलपोखरी

काठमाडौं । केही साता पहिले कमलपोखरीमा टनाटन पानी भरिएको थियो । वरिपरिका संरचनाहरू बन्दै थिए । पोखरी आकर्षक र व्यवस्थित बन्दै थियो ।

Advertisement

सोही समयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको जानकारी दिएका थिए । छिट्टै पुनर्निर्माणको काम सम्पन्न गरेर उद्घाटन गर्ने समेत बताएका थिए ।

तर, पुनः महानगरकै लापरबाहीले पोखरी बेवारिसे र फोहोरमय बनिरहेको छ । एकातिर बन्दै अर्कोतिर भत्किँदै छ ।
अहिले पोखरीमा पानीको सतह घटेको छ । पोखरी वरिपरि बनाइएका संरचनाहरू भत्किरहेका छन् । छेउछाउमा प्लास्टिकजन्य फोहोरको डंगुर छ । पोखरीका माछाहरू मरेर तैरिरहेका छन् ।
पोखरीको सौन्दर्यता बढ्दै जाँदा खुसी व्यक्त गर्ने काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ यतिखेर बेखबर छन् । वडाध्यक्ष श्रेष्ठ माथिल्लो निकायले पुनर्निर्माण सम्पन्न गरेर वडालाई हस्तान्तरण नगरेसम्म वडाले केही गर्न नमिल्ने बताउँछन् ।

‘‘महानगरपालिकाले ठेक्कामा लगाएको पोखरी समयमै हस्तान्तरण भएन । केही प्राविधिक रूपमा अहिले पोखरी दूषित भएको छ । यद्यपि, महानगरले हेरिरहेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकाउँदा पोखरी केही अव्यवस्थितजस्तो देखिएको हो,” उनले भने ।

अनावश्यक विवादका कारण पोखरी पुनर्निर्माणको काममा ढिलाइ भए पनि काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल महानगरपालिकाले पोखरीलाई बेवारिसे र बेवास्ता नगरेको दाबी गर्छन् । गएको मंगलबार मेयर शाक्यले पोखरीको निरीक्षण गरेर निर्माण व्यवसायीलाई काम छिटो सकाउन निर्देशन दिएको उनले बताए ।

‘‘मेयरले मंगलबार पनि पोखरी निरीक्षण गर्नुभएको छ । अब छिट्टै पोखरी उद्घाटन गर्ने तयारी भइरहेको छ । बेवारिसे छोडेका छैनौँ । केही मात्रामा पोखरीमा फोहोर जम्मा भएको छ । माछा मरेका छन् । ठेकेदार कम्पनीलाई छिटो काम सकाएर हस्तान्तरण गर्न पटक–पटक भन्दै आएका छौँ । हस्तान्तरण भएपछि पोखरीको निरन्तर सरसफाइ र व्यवस्थित हुन्छ,” प्रवक्ता डंगोलले भने ।

ठेकेदार कम्पनीले पोखरीको पुनर्निर्माण सकाएपछि कसलाई हस्तान्तरण गर्ने भन्नेबारे महानगरले कुनै नीति बनाएको छैन । ‘ड्राई सिजन’ भएकाले पानीको सतह स्वभावैले घट्ने प्रवक्ता डंगोलको भनाइ छ ।

पुनर्निर्माणमा ढिलासुस्ती भएकाले एक वर्ष पहिले बनाइएका संरचनाहरू भत्किएको स्थानीयको भनाइ छ । पोखरी महानगरले वडा कार्यालयलाई हस्तान्तरण गरिसकेपछि पर्यटन क्षेत्रलाई जोड्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

कमलपोखरीको दक्षिणतर्फ कमलपोखरी प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रलाई विस्तार गर्दै आकर्षक पार्क निर्माण गरिने महानगरको योजना छ । सोही क्षेत्रमा महानगरले कमलपोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपांगतामैत्री शौचालय, जिमहल, उद्यान र सार्वजनिकस्थलसहितको डिजाइन तयार पारेर काम अगाडि बढाइएको प्रवक्ता डंगोलले जानकारी दिए ।

कमलपोखरी पुनर्निर्माणको स्टिमेटमा चार कुनामा संस्कृति झल्किने चारवटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच मण्डप राखिने उल्लेख छ । विभिन्न ठाउँमा चैत्य र पाँच मकरधार रहने भनिएको छ ।

यी संरचना बनाउने काम अहिलेसम्म सुरु गरिएको छैन । बनेका संरचनाहरूलाई पूरा नगरी त्यसै छोडिएका छन् ।

करिब ६ करोड ३६ लाख रुपैयाँको लगानीमा पोखरी पुनर्निर्माण भइरहेको छ । कँडेल निर्माण सेवा कम्पनीले भक्तपुर र ललितपुरको बुङमतीका अनुभवी कामदार ल्याएर पुनर्निर्माणको काम गरिरहेको जनाइएको छ

महानगरले पोखरीको ऐतिहासिकता मास्न लागेको भन्दै लामो समय पुनर्निर्माणको काम विवादमा अल्झिएको थियो । स्थानीय र सम्पदा संरक्षणकर्मीहरूले कंक्रिटका संरचनाहरू भत्काएका थिए । पुनः कंक्रिटका संरचनाहरू बनाइएकाले स्थानीय र संम्पदा संरक्षणकर्मीहरूको महानगरप्रति असन्तुष्टि कायमै छ ।